FAQs Complain Problems

परिचय

पूर्वाञ्चल विकास क्षेत्रअन्तर्गत सगरमाथा अञ्चलको भित्री मधेसमा पर्ने एकमात्र जिल्ला उदयपुर जिल्लाको गाइघाटस्थित त्रियुगा नगरपालिका २०५३ साल चैत १३ गते स्थापना भएको हो । तत्कालिन गाइघाट देउरी र भुमरसुवा गाउँ विकास समितिका सबै भू-भाग समेटेर कुल १६ वटा वडाको वर्गिकरण गरी त्रियुगानदीको नामले उक्त नगरपालिका नामाकरण गरिएको हो ।क्षेत्रफलको आधारमा नेपाल अधिराज्यकै सबैभन्दा ठूलो नगरपालिका मानिएको त्रियुगा नगरपालिका खोटाङ, ओखलढुङ्गा, सप्तरी, सिराहा र धनुषा जिल्लाको प्रमुख व्यापरिक केन्द्रका रूपमा मानिन्छ । नगरपालिकाको मुख्य विशेषता एसियाकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग उदयपुर सिमेन्ट उद्योग रहनुका साथै चारैतिर पहाडैपहाडले घेरिएर उपत्यकाको रूपमा रहनु हो । नगरपालिका पूर्वमा हाडिया/जोगिदह, पश्चिममा भलायडाँडा, उत्तरमा साउने/खाँबु, चिलाउने गाउँ विकास समिति छन् भने दक्षिणमा सप्तरी जिल्लाको केही गाउँ विकास समिति छन् । नगरपालिका भित्र भगवती, शिव, खाट, रामजानकी र राधाकृष्ण मन्दिरजस्ता मठमन्दिर छन् । नगरपालिकाको कुल जनसंख्या ७१ हजार ४ सय ५ छ ।कुल क्षेत्रफल ५४७ वर्ग कि.मी. रहेको नगरमा ब्राम्हण, क्षेत्री, नेवार, राई, मगर, दनुवार, परियार, विश्वकर्मा, डुम, मुसहर, चमार, थारू र मधेसी मूलका जातजाति बसोबास गर्दछन् । नेपाली लोकगीतमा आधारित लोकनृत्य, थारू संस्कृतिमा आधारित बड्कानाच, कौडा नाच, नेवारी संस्कृतिको लाखेनाच, किरांत संस्कृतिका चण्डीनाच, दनुवार जातिका मादलनाच, मगर जातिका नाच, देउसी भैलो र धार्मिक कार्यमा गाइने भजनकिर्तन नगरपालिकाका प्रमुख संस्कृति मानिन्छ । नगरपालिका भित्र हिन्दुहरूले मनाउने प्रमुख चाडपर्वमा दशंैतिहार, माघेसङ्क्रान्ति, चैतेदशै, साउने सङ्क्रान्ति, जनैपूर्णिमा, हरितालिका र कृष्णाअष्टमी हुन् त्यस्तै बौद्धमा बुद्धपूर्णिमा, प्रमुख चाड हो भने मुस्लिम धर्म मान्नेहरूले इद, बकरीदजस्ता प्रमुख चाड मनाउने गरेको पाइन्छ ।

पूर्वी नेपालको उदयपुर उपत्यकाको उदयपुर जिल्लामा रहेको त्रियुगा नगर द्रुततर गतिमा बढीरहेको नगर हो। यो क्षेत्रफलमा नेपालकै सबैभन्दा ठूलो नगरपानीका पनि हो। उदयपुर जिल्लाको सदरमुकाम रहेको त्रियुगामा सबै जिल्ला स्तरीय कार्यलय साथै क्याम्पस विधालय तथा अस्पताल हरू समेत रहेका छन।